जिल्ला प्रशासन कार्यालय, कञ्चनपुर ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा रणनीति कडा बनाएको छ। भारतसँग खुला सीमा जोडिएको कञ्चनपुर जिल्ला मा सम्भावित आवतजावत र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निर्वाचन अवधिभर सबै सीमा नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म भारतसँग जोडिएका सम्पूर्ण नाका बन्द रहनेछन्। खुला सीमाबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गरी मतदान प्रक्रिया स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन यस्तो कदम चालिएको प्रशासनको भनाइ छ।
यसैगरी, फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। एम्बुलेन्स, दमकल, ट्राफिक, दूरसञ्चार, शववाहन, अस्पताल तथा विद्युत् सेवा, कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका सवारीसाधन र अनुमति प्राप्त सवारी मात्रै सञ्चालनमा रहनेछन्।
प्रशासनले सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्र र मुख्य बजारमा निगरानी बढाएको जनाएको छ। खुला सीमाका कारण निर्वाचनमा बाह्य प्रभाव पर्न सक्ने सम्भावनालाई न्यून गर्दै शान्तिपूर्ण र मर्यादित वातावरणमा मतदान सम्पन्न गराउने लक्ष्य राखिएको बताइएको छ।
