काठमाडौं। इरानले अमेरिका र इजरायलसँग जारी तनावपूर्ण युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ। युद्ध १३औँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो देशका वैध अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार नगरेसम्म, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति नदिइएसम्म र भविष्यमा इरानमाथि आक्रमण नहुने विश्वसनीय अन्तर्राष्ट्रिय ग्यारेन्टी नआएसम्म युद्ध रोक्न नसकिने स्पष्ट पारेको हो।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल एक्समार्फत रुस र पाकिस्तानका नेतासँग भएको कुराकानीपछि आफ्नो देश शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताएका छन्। उनले इरानले युद्ध चाहेको नभई आफ्नो राष्ट्रिय अधिकार र सुरक्षाको रक्षा गर्न बाध्य भएको उल्लेख गरेका छन्।
पेजेस्कियानका अनुसार यो द्वन्द्व ‘अमेरिका र इजरायलद्वारा भड्काइएको’ हो। त्यसैले युद्ध अन्त्यको आधार इरानका अधिकारको सम्मान, युद्धले पुर्याएको क्षतिको क्षतिपूर्ति तथा भविष्यमा यस्ता आक्रमण नदोहरिने कडा अन्तर्राष्ट्रिय सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ।
तेहरानको पछिल्लो धारणा सार्वजनिक भएसँगै युद्ध रोक्नका लागि कूटनीतिक पहल तीव्र हुने अपेक्षा गरिएको छ। यद्यपि इरानले आफ्ना माग पूरा नभएसम्म संघर्ष रोक्ने सम्भावना न्यून रहेको संकेत दिएको छ।
