विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने अन्तिम तयारी गरेका छन्।
केन्द्रीय स्तरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबिच सत्ता गठबन्धनका सम्बन्धमा नयाँ समझदारी बनेपछि कांग्रेसबाट मन्त्रिमण्डलमा सहभागी सदस्यहरू सरकारबाट बाहिरिन लागेका हुन्।
राजीनामाको औपचारिक निर्णय र मिति तय गर्न शुक्रबार मन्त्रीहरूको बैठक बस्ने तयारी भइरहेको छ। त्यसअघि मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर यसबारे औपचारिक जानकारी गराउने कार्यक्रम रहेको छ।
भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारका अनुसार मुख्यमन्त्रीसँगको परामर्शपश्चात् बस्ने मन्त्रीहरूको बैठकले राजीनामा बुझाउने औपचारिक समय र प्रक्रिया निर्धारण गर्नेछ।
उनले आफूहरूले सामूहिक राजीनामाको सम्पूर्ण तयारी गरिसकेको र मुख्यमन्त्रीलाई भेटेपछि बस्ने बैठकबाट आधिकारिक दिन तय हुने जानकारी दिएका छन्।
मुख्यमन्त्री कार्की नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी रहेका छन्। उनीहरू सबैले एकैसाथ राजीनामा दिएर सरकार छाड्ने तयारी गरेका हुन्।
केन्द्रमा नयाँ राजनीतिक सहमति र सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ सरकार पुनर्गठन वा समीकरण समायोजनको बाटो खोल्न कांग्रेसका मन्त्रीहरूले यो कदम चालेका हुन्। मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएसँगै प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठनको औपचारिक प्रक्रिया अघि बढ्ने देखिएको छ।
