साउन २६ देखि काठमाडौँमा गाडी र मोटरसाइकलको महाकुम्भ: कुन ब्रान्डले के गर्दैछन् धमाका ?

काठमाडौँ। नेपालको अटोमोबाइल तथा गतिशीलता (मोबिलिटी) क्षेत्रको विकास, प्रवर्द्धन र नीतिगत पैरवीका लागि स्थापित नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने उक्त प्रदर्शनीमा ५३ भन्दा बढी ब्रान्डका सवारीसाधन र अटो कम्पोनेन्टहरू सहभागी हुनेछन्।

आयोजकका अनुसार यस वर्षको एक्स्पोमा ४० भन्दा बढी नयाँ दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारीसाधनहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।

अटो क्षेत्रका प्रमुख आयातकर्ता र उत्पादकहरूलाई समेटेर गठन भएको गैर-राजनीतिक संस्था नाइमाले ‘सबैका लागि मोबिलिटी’ (Mobility for All) को अवधारणालाई आत्मसात् गर्दै आएको छ। संस्थाकी प्रथम अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा रहेको नाइमाले सुरक्षित यातायात, पूर्वाधार सुधार, उपभोक्ता सशक्तीकरण र विद्युतीय सवारी (ईभी) प्रवर्द्धनका क्षेत्रमा नीतिगत सहकार्य गर्दै आएको छ।

एक्स्पोमा विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधनका नयाँ मोडल, नवीनतम प्रविधि, वित्तीय सुविधा तथा अटोमोबाइलसम्बन्धी शिक्षामूलक (लर्निङ) सेसनहरूसमेत सञ्चालन गरिनेछन्।

यसपटकको प्रदर्शनीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन प्रवेश टिकटमा छुट, सहजीकरणका लागि डिजिटल भुक्तानी, फुड कोर्ट तथा पर्याप्त पार्किङको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। नेपालमा दिगो, सुरक्षित र आधुनिक गतिशीलताको नयाँ वातावरण निर्माण गर्न यो एक्स्पोले ठूलो योगदान पुर्‍याउने नाइमाको अपेक्षा छ।