अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार तथा गोलाबारुदको अभाव भइरहेको भन्ने समाचारको खण्डन गरेका छन्।
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सैन्य सूचना चुहाएको आशङ्का गरिएका व्यक्तिहरूलाई खोजेर कडा कारबाही र लामो समयको जेल सजाय दिलाउने चेतावनी दिएका छन्।
बिहीबार बिहान ट्रम्पले अमेरिकामा पर्याप्त मात्रामा हतियार रहेको र आवश्यकता अनुसार ठूलो परिमाणमा उत्पादन तथा आपूर्ति भइरहेको बताएका हुन्।
युद्ध छैटौँ महिनामा प्रवेश गर्दा र शान्ति सम्झौता ओझेलमा परिरहँदा ट्रम्प र पेन्टागनमाथि अमेरिकी सैन्य भण्डारको अवस्थालाई लिएर विभिन्न प्रश्नहरू उठिरहेका छन्।
अमेरिकी हतियार घट्दै गएको खबर आएपछि इरानले आफ्नै देशमा निर्मित हतियारले जुनसुकै खतराको सामना गर्न सक्ने प्रतिक्रिया दिएको छ। इरानका रक्षा मन्त्री मजिद इब्न-ए-रेजाले सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै शत्रुको क्षमता कमजोर हुँदै गएको र आफ्ना सशस्त्र बल जुनसुकै चुनौतीको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताए।
उनले आयातित प्रणालीमार्फत सैन्य श्रेष्ठता हासिल गर्न खोज्नेहरूले चाँडै इरानको स्वदेशी प्रविधि उत्कृष्ट रहेको महसुस गर्ने दाबी पनि गरे।
‘अपरेशन एपिक फ्युरी’ र त्यसपछिका हमलाहरूमा ठूलो मात्रामा हतियार खर्च भएपछि ट्रम्प प्रशासनले आफ्नो मिसाइल भण्डार अझै मजबुत रहेको दाबी गर्दै आएको छ।
यद्यपि, सीबीएस न्यूजले अमेरिकाले आफ्ना धेरैजसो लामो दूरीका मिसाइलहरू प्रयोग गरिसकेको रिपोर्ट सार्वजनिक गरेको छ। यस्तै, वासिङ्टन पोस्टले हतियारको अभावलाई लिएर ट्रम्पले रक्षा मन्त्री पिट हेगसेथसँग असन्तुष्टि जनाएको दाबी गरेको थियो।
तर ट्रम्पले वासिङ्टन पोस्टको समाचारलाई ‘झूटा’ भन्दै खण्डन गरेका छन् र आफू हेगसेथको कामबाट पूर्ण सन्तुष्ट रहेको स्पष्ट पारेका छन्।
अमेरिकाको मिसाइल भण्डारसम्बन्धी वास्तविक विवरण भने गोप्य राखिएको छ। थिङ्क ट्याङ्क संस्था ‘सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेसनल स्टडिज’को अनुमान अनुसार जुलाईको अन्त्यसम्ममा अमेरिकासँग ७५९ देखि ८२७ ओटा पेट्रियट मिसाइल मात्र बाँकी थिए, जुन युद्ध सुरु हुनुअघिको तुलनामा करिब एक तिहाइ मात्र हो।
त्यस्तै, आक्रमण रोक्न प्रयोग गरिने मिसाइलको भण्डार पनि अमेरिकाले करिब ६० प्रतिशत प्रयोग गरिसकेको विज्ञहरूले अनुमान गरेका छन्।
