छातीमा गाेली लागेकाे अवस्थामा युवक मृत भेटिए

धनगढी- कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक युवक मृत भेटिएका छन् । बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा मृत भेटिएका हुन् ।

प्रहरीकाअनुसार उनी मंगलबार साँझ साढे ८ बजेतिर स्थानीय लालीगुँरास सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् ।

उनी मृत भेटिएको स्थानमा भरुवा बन्दुक पनि फेला परेको छ ।
इलाका प्रहरी कार्यालय सडकपुर बौनियाकाअनुसार उनको देव्रे हातको छातीतर्फको भागमा गोली लागेको जस्तो देखिने घाउ रहेको पाइएको छ ।

प्रहरीले घटनास्थलमा भेटिएको भरुवा बन्दुक बरामद गरि घटनाबारे थप अनुसन्धान गरिहेको छ । वडाध्यक्ष मनऋषी आचार्यकाअनुसार उनी सिकार खेल्न जंगल गएको बुुझिएको छ ।

मृतक विश्वकर्माको शव परीक्षणका लागि बौनियाकै दोदोधारा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।