काठमाडौं । सरकारले नेपाल प्रेस काउन्सिलको सदस्यमा चार जना पत्रकारलाई नियुक्त गरेको छ। सरकारको पछिल्लो निर्णयअनुसार उपासना घिमिरे, नम्रता शर्मा, रविराज बराल र फोटो पत्रकार प्रकाश माथेमा काउन्सिलको सदस्यमा नियुक्त भएका हुन्।
नवनियुक्त सदस्यहरूले बुधबार आयोजित समारोहमा काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथपछि उनीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रमसमेत गरिएको थियो।
नवनियुक्तमध्ये उपासना घिमिरे कान्तिपुर मिडिया ग्रुपद्वारा प्रकाशित मासिक पत्रिका ‘सर्वोत्तम नारी’की सम्पादक हुन्। नम्रता शर्मा लामो समयदेखि पत्रकारिता तथा स्तम्भ लेखनमा सक्रिय छन्। रविराज बराल ‘मिडिया कुराकानी’का सम्पादक हुन् भने प्रकाश माथेमा लामो समयदेखि फोटो पत्रकारितामा क्रियाशील छन्।
चार नयाँ सदस्यको नियुक्तिसँगै प्रेस काउन्सिलमा छापा पत्रकारिता, स्तम्भ लेखन, डिजिटल सञ्चार तथा फोटो पत्रकारितालगायत विभिन्न विधाको प्रतिनिधित्व थपिएको छ।
काउन्सिलमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा पदेन सदस्य तथा सूचना तथा प्रसारण विभागका महानिर्देशक अनुप नेपाल सदस्यसचिवका रूपमा रहेका छन्। नयाँ नियुक्तिपछि पनि काउन्सिलमा चार सदस्यको पद रिक्त रहेको जनाइएको छ।
