अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोर महानगर क्षेत्रमा नेपाली समुदायले परम्परागत येँया (इन्द्रजात्रा) भव्य रूपमा मनाएको छ। गनपाउडर फल्स स्टेट पार्कमा आयोजित जात्रामा मेरिल्यान्ड, भर्जिनिया, पेन्सिल्भेनिया, न्यु जर्सी र म्यासाचुसेट्सलगायत विभिन्न राज्यबाट करिब ७०० देखि ८०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सुरुवात नेपा कम्युनिटी यूएसएका अध्यक्ष बिक्रान्त मान श्रेष्ठको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रम सुरु हुँदा भारी वर्षा भए पनि रथ तान्ने समयमा वर्षा रोकिएपछि जात्रा सहज रूपमा सञ्चालन भएको थियो। जात्रामा भगवान् श्रि गणेश, श्रि भैरव र श्री कुमारी माजुको रथ तानिएको थियो। बालबालिकाले गणेशको रथ, महिलाहरूले भैरवको रथ तथा मिश्रित समूहले श्री कुमारी माजुको रथ तानेका थिए।

काठमाडौँबाहिर तीनवटै रथ तान्ने यो कार्यक्रम अमेरिकाको बाल्टीमोरमा सन् २०१८ देखि आयोजना हुँदै आएको आयोजकले जनाएको छ। जात्राका क्रममा नेवाः परम्परागत समयबजी प्रदर्शन तथा वितरण गरिएको थियो। विशेषगरी युवामाझ ‘हाथु हायेकेगु’ निकै लोकप्रिय बनेको थियो। त्यस्तै लाखे आजु, बाल लाखे, पुलुकिसी, योसि थनेगु र धिमे बाजाले जात्रामा थप आकर्षण बढाएको थियो। कार्यक्रममा नेपालस्थित विभिन्न मौलिक संस्कृति तथा परम्पराको झल्को दिने गतिविधिसँगै पानीपुरी, कपडा तथा विभिन्न उपहार सामग्रीका स्टलसमेत राखिएका थिए।
कार्यक्रम सबैका लागि खुला र निःशुल्क गरिएको थियो। कार्यक्रममा वासिङ्टन डि सी स्थित नेपाली दूतावासकी प्रतिनिधि अरुणा घिसिङले नेपा कम्युनिटी यूएसएलाई नेपाली मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानका लागि बधाई दिईन। मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारीले नेपाली संस्कृति तथा परम्परालाई अमेरिकामा जीवन्त राख्न संस्थाले गरेको प्रयासको प्रशंसा गरे। उनले अमेरिकाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति र परम्पराले पुर्याएको योगदानको चर्चा गर्दै मेरिल्यान्ड स्टेट एसेम्बलीको तर्फबाट संस्थालाई प्रदान गरिएको प्रशंसापत्र अध्यक्ष बिक्रान्त मान श्रेष्ठलाई हस्तान्तरण गरेको थियो।

कार्यक्रममा वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष मनोहर लाल श्रेष्ठ, वर्ल्ड नेवाः अर्गनाइजेसन यूएसए च्याप्टरका अध्यक्ष एवंम नेवाः स्कलर पुरोहीत बासव राजोपाध्याये, नेवाः अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष राजेश लाल श्रेष्ठ तथा पेन्सिल्भेनियाको ह्यारिसबर्गस्थित भुटानी नेवार समाजका अध्यक्ष हस्त प्रधानले आयोजक लगायत उपस्थित सबैलाई इन्द्र जात्राको शुभकामना दिएर आ- आफ्नो छोटो मन्तब्या राखेको थियो। कार्यक्रममा अरूपनी विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो। यसपालीको येंया कार्यक्रममा संस्थालाई उल्लेखनीय योगदान पुर्याउने तीन जनालाई सम्मान गरिएको थियो।

संस्थाको स्थापनादेखि निरन्तर योगदान पुर्याउँदै आएकी निर्मला श्रेष्ठ, संस्थालाई ५०१(c)(३) गैरनाफामूलक संस्थाको मान्यता प्राप्त गर्न महत्वपूर्ण सहयोग गरेका बोस्टन, म्यासाचुसेट्सका वर्ल्ड नेवाः अर्गनाइजेसनका कोषाध्यक्ष दीपक डंगोल तथा संस्थालाई निरन्तर सहयोग र समर्थन गर्दै आएका एवं लायन्स डिस्ट्रिक्टको गभर्नरमा निर्वाचित नारायण खकुरेललाई प्रशंसापत्रसहित सम्मान गरिएके थियो। कबीना महर्जनको नेतृत्वमा न्युजर्सी धिमय पुचले नेवाःधिमय नाच, ह्यारीसबर्गदेखि आउनुभएका २ महिला युवतीहरूले नेवाः नाच का साथ स्थानीय युवतीहरु लगायत महिला समुहले निकै राम्रो नेवाः नाच प्रस्तुती गरेका थियो भगवान् गणेश, भैरव र श्री कुमारी माजुको उपस्थितिमा लाखे आजुले प्रदर्शनगरीराखेको समयबजी बिगारेर सबै मिसाइसकेपछी उपस्थित सबैलाई प्रशाद बांडीडिएको थियो। सहभागीहरूले अमेरीकामा बसेरपनी आफ्नो देशको मौलिक संस्कृति र परम्पराको अनुभव गर्दै उत्साहपूर्वक जात्रा मनाएका थिए। इन्द्रजात्राको तयारी बिहान करिब ९ बजेदेखि सुरु भएर सांझको ५ः३० बजेतिर समापन भएको थियो।
