अफगानिस्तानमा हवाई हमला गरेको पाकिस्तानको दाबी

पाकिस्तानी सरकारले आफ्नो सेनाले अफगानिस्तानका दुई स्थानमा आतंकवादीका अखडालाई निशाना बनाएर हवाई हमला गरेको दाबी गरेको छ। सरकारका अनुसार हमलामा धेरै आतंकवादी मारिएका छन्।

पाकिस्तानको सूचना मन्त्रालयले एक्समा जारी गरेको विज्ञप्ति अनुसार अपरेसन गजब-उल-हकअन्तर्गत चरमपन्थी संगठनका अखडा र सुरक्षित आश्रयस्थलहरूमा हवाई हमला गरिएको हो। यसको उद्देश्य चरमपन्थी, उनीहरूको सञ्जाल र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई समाप्त पार्नु रहेको मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा दाबी गरिएको छ, ‘यी अखडाहरू सफलतापूर्वक ध्वस्त पारिएका छन्। यी कारबाहीमा २२ जना चरमपन्थी पनि मारिएका छन्।’

तालिबान सरकारले पाकिस्तानले अघिल्लो रात देशका कुनार र हेलमन्द प्रान्तमा हवाई हमला गरेको आरोप लगाएको छ। जसमा धेरै मानिस मारिएका र घाइते भएका छन्। तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले एक्समा जारी गरेको विज्ञप्तिमा पाकिस्तानले सर्वसाधारणका घरमा हवाई हमला गरेको दाबी गरेका छन्।

जबीहुल्लाह मुजाहिदले यी हमलामा ९ जना मारिएको र ११ जना घाइते भएको दाबी गरेका छन्। प्रवक्ताका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन्।