वडा नं. २३ को प्रशासनिक भवन तथा जुद्ध बारुण यन्त्रको पुनर्निर्मित भवन उद्घाटन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ‘हरेक वडामा आफ्नै प्रशासनिक भवन’ निर्माण गर्ने नीतिअनुसार निर्माण गरिएको वडा नं. २३ को नयाँ प्रशासनिक भवन तथा नेपालको पहिलो दमकल सेवा ‘जुद्ध बारुण यन्त्र’को पुनर्निर्मित भवनको उद्घाटन गरिएको छ।

बसन्तपुरस्थित जुद्ध बारुण यन्त्र कार्यालय परिसरमा निर्माण गरिएको वडा नं. २३ को प्रशासनिक भवनको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

करबाहेक १ करोड ८४ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन नियोक्लासिक अर्थात् राणाकालीन शैलीमा निर्माण गरिएको छ। जुद्ध बारुण यन्त्रको मौलिक संरचनासँग मेल खाने गरी तयार पारिएको भवन विश्व सम्पदा क्षेत्रअन्तर्गत संरक्षित स्मारक उपक्षेत्रको मापदण्डअनुसार निर्माण गरिएको महानगरपालिकाले जनाएको छ।

उद्घाटन कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले सबै वडाका आफ्नै प्रशासनिक भवन निर्माण गर्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको बताइन्। आफ्नै स्थायी भवन भएपछि वडावासीलाई सेवा लिन सहज हुने र सेवाको गुणस्तरमा समेत सुधार आउने उनको भनाइ थियो।

उनले नयाँ भवनबाट नागरिकले महानगरपालिकाको सेवा प्रवाहमा परिवर्तनको अनुभूति गर्ने अपेक्षा व्यक्त गर्दै महानगरपालिकाको केन्द्रीय कार्यालय निर्माणको काम पनि छिट्टै सम्पन्न गर्ने गरी अघि बढिरहेको जानकारी दिइन्।

वडाध्यक्ष मचाराजा महर्जनले निर्वाचनका क्रममा वडावासीसँग गरेको आफ्नै प्रशासनिक भवन निर्माणको प्रतिबद्धता पूरा भएको बताए। उनले वडामा सडक तथा गल्ली निर्माण, मर्मतसम्भार, विपद् व्यवस्थापन, उद्यमशीलता विकास तथा सम्पदा संरक्षणका कामलाई निरन्तरता दिइरहेको जानकारी दिए। भवन निर्माणका क्रममा विभिन्न चुनौती आए पनि वडावासीलाई आफ्नै प्रशासनिक भवन उपलब्ध गराउन सफल भएको उनले बताए।

वडा नं. २३ का  पूर्ववडाध्यक्ष पवित्र बज्राचार्यले नयाँ भवनले वडावासीमा गौरवको अनुभूति गराएको बताए।  उनका अनुसार कतिपयले नयाँ भवन निर्माण गर्नुपर्ने धारणा राखेका थिए भने कतिपयले जुद्ध बारुण यन्त्र क्षेत्रलाई आधुनिक ‘कम्प्लेक्स’का रूपमा विकास गर्नुपर्ने सुझाव दिएका थिए। तर, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको संरचनाको मौलिकता संरक्षण गर्दै पुनर्निर्माण गर्नु आवश्यक रहेकोमा जोड दिइएको थियो।

अभियान्ता गणपतिलाल श्रेष्ठले मौलिक शैलीमा निर्माण भएको भवनले सम्पदामैत्री संरचना संरक्षणमा योगदान पुर्‍याउने बताए। सम्बोधनका क्रममा श्रेष्ठले विपद्का समयमा जुद्ध बारुण यन्त्रको सेवा काठमाडौँमा मात्र सीमित नभई आवश्यकता र क्षमताअनुसार काठमाडौँ उपत्यका तथा अन्य क्षेत्रमा समेत महत्वपूर्ण हुने बताए। साथै, जुद्ध बारुण यन्त्रको पुनर्निर्माणका क्रममा विभिन्न पक्षबाट फरक–फरक धारणा आए पनि नियोक्लासिक अर्थात् राणाकालीन शैलीमा सांस्कृतिक सम्पदाको स्वरूप जोगाउँदै पुनर्निर्माण गर्न धेरै संघर्ष गर्नुपरेको उनले बताए।

१०७ फिट ६ इन्च लम्बाइ र १९ फिट चौडाइमा निर्माण गरिएको वडा कार्यालय भवन तीन तले रहेको छ। भवनको उचाइ ३२ फिट रहेको छ। आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार भवनको प्रत्येक तलाको क्षेत्रफल २ हजार ४८ वर्गफिट रहेको छ।

भवन निर्माणका लागि एसबी कन्स्ट्रक्सनलाई २०८२ मंसिर २१ गते कार्यादेश दिइएको थियो। भवन २०८३ असोज ३० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।