काठमाडौँको थापाथलीस्थित मेलम्ची खानेपानीको पाइप पुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको छ। मंगलबार बिहान थापाथलीमा पाइप फुटेर पानी बाहिर निस्कँदा सडक जलमग्न हुनुका साथै आसपासका पसलभित्र पानी पसेको थियो।
पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ। सडकपेटीमा पनि क्षति पुगेको छ। सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन्। वरपरका पसलहरुमा पानीको भेल पसेको छ। सो क्षेत्रमा रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरु छन्। केही पसल र रेष्टुरेन्टहरुमा भेल पसेर जलमग्न भएको छ। घरका भुइँतला डुबानमा परेका छन्।
आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको बताइएको छ। पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन।
यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो। त्यतिबेला सो क्षेत्रमा रहेका वन कार्यालय लगायतका सरकारी कार्यालयहरु जलमग्न भएका थिए। अदालतको इजलास नै स्थगित गर्नुपरेको थियो।
