आज नेवा: समुदायले पाहाँ चह्रे मनाउँदैछन्। हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकामा नेवा: समुदायले पाहाँ चह्रे मनाउने गर्छन्। स्थानीय नेवा: समुदायको यो दशैँपछिको ठूलो पर्व हो।
कसैले यसलाई पासा चह्रे पनि भन्ने गर्छन्। नेवा: भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। चह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ।
पाहाँ चह्रेको पहिलो दिन आज बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरिन्छ। साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरिन्छ। आजको दिन लुकु महाद्यः भन्दै जमिनमुनि रहेको महादेवको आकृतिलाई पूजा गर्ने गरिन्छ। विभिन्न टोलमा रहेको लुकु महाद्य: लाई आज खाल्डोमा खनेर लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ।
त्यसैगरी कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ।
पाहाँ चह्रे पर्वको दोस्रो दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ । ८४ ब्यञ्जनसहतिको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ। यस्तै, दोस्रो दिन तिंख्य (टुँडिखेल)मा घोडेजात्रा देखाउने गरिन्छ। पाटनमा पनि यही दिन घोडेजात्रा गरिन्छ। साँझ भने अजिमाहरुलाई टुँडिखेलमा लगिन्छ र खट जुधाउने गरिन्छ।
पहिले पहिले असनमा ७ खट जात्रा गरि द्य ल्वाकेगु जात्रा हुन्थ्यो भनिन्छ तर हाल आएर भद्रकाली (लुँमरी अजिमा) कंकेश्वरी (चामुण्डार कंग अजिमा) र टेबहालकी लुभडी अजिमालाई देव खलकले बोकेर आएको तीप्वा मत (चिराग) साटासाट गरेर खट जुधाएको प्रतिकको रुपमा जात्रा गरी मनाइन्छ ।
जात्राको अन्तिम दिन दिउँसो असनमा पनि दिदीबहिनी अजिमाहरुलाई भेटाउने र खट जुधाउने जात्रा हुन्छ। यस खदिन रातो, नीलो र पहेँलो गरी तीन वटा रङ्गका टोपी र टिसर्ट लगाएकाहरु असनको मुख्य चोकमा भेला भएर ‘द्य: ल्वाकेगु’ गर्छन्। असनमा भद्रकाली (लुँमरी अजिमा) र कंकेश्वरी (चामुण्डा/ कंग अजिमा) को खट बोक्नेहरुले चिराग साट्ने गर्छन्।
