देवदास मानन्धरको योगदानको सम्झनामा लुमन्ति पौ (स्मृति ग्रन्थ) प्रकाशन हुने

भाषासेवी, नेपाल संबतका अभियन्ता, शिक्षाविद्, लिपि विशेषज्ञका साथै इन्जिनीयर देवदास मानन्धरको योगदानको सम्झनामा लुमन्ति पौ (स्मृति ग्रन्थ) प्रकाशन हुने भएको छ ।

दिवंगत मानन्धरका पिता लोकप्रिय धर्मसेवी, भाषासेवी, उद्योगपति, राजनीतिज्ञ लक्ष्मीदास मानन्धरका नाममा स्थापित लक्ष्मीदास मानन्धर स्मृति प्रतिष्ठानबाट यस प्रकारको लुमन्ति पौ प्रकाशन हुन लागेको हो ।

आगामी ने.सं. ११४५ बछलागाः द्वादशी, शनिबार (जेठ १० गते) बिहान ८ बजे काठमाण्डौं स्थित नेपाः ब्यांक्वेटमा उक्त लुमन्ति पौको लोकार्पण हुने जानकारी प्रतिष्ठानका अध्यक्ष नारायण दास मानन्धरले दिनुभएको छ । वहाँले यस लुमन्ति पौको लोकार्पण नेपालभाषा एकेडेमीका चान्सलर नेवाः अग्रज मल्ल के. सुन्दरबाट हुने जानकारी पनि दिनुभयो ।

प्रतिष्ठानबाट प्राप्त जानकारी अनुसार लुमन्ति पौमा दिवंगत देवदास मानन्धरले गर्नुभएका विविध कार्यका साथै वहाँसँग नजिक रहनुभएका १५० जना ब्यक्तिहरूले वहाँको सम्झनामा लेख्नु भएका लेखहरु संग्रहित छन् ।

उक्त लुमन्ति पौ गतः एक वर्ष अघिदेखि प्रकाशनको तयारी गरिएको तथा यसका निम्ति भाषासेवी तथा शिक्षाविद् विष्णु चित्रकारको संयोजकत्वमा देवदास लुमन्ति पौ ग्वाहालि पुचः स्थापना गरी कार्य अघि बढाउँदै आएको छ ।

यस पुचःका संयोजक विष्णु चित्रकारले यस लुमन्ति पौबाट दिवंगत देवदासको योगदान सम्बन्धमा धेरै जानकारी प्राप्त गर्न सकिने भनी बताउनु भएको छ ।

देवदास मानन्धर गतः दुई वर्ष अघि ने.सं. ११४३ कौलागाः अस्तमि, आइतबार (२०८० कार्तिक २९) का दिन ब्रेन ह्यामरेज भएर अकस्मात दिवंगत हुनुभएको हो ।