लोककवि राजभाइ जकःमिले लेख्नुभएको पुर्खाया ‘पलाःख्वाँय्’ (पुर्खाको पदचाप) स्मृति काब्य ग्रन्थ ने.सं. ११४५ दिल्लाथ्वः नवमी, शुक्रबार (२०८२ असार २० गते)का दिन नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा हलमा विमोचन गरिएको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्रकाशित यस पुस्तकको बिमोचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा कोष तथा ब्याकरण विभाग र नेवाः देय् दबू, जातीय परिषद्को संयुक्त आयोजनामा भएको हो ।
पूर्वमन्त्री तथा बागमती प्रदेशका सांसद माननीय शैलेन्द्र मान बज्राचार्यले मुख्य अतिथिको रुपमा सुकुन्दामा दिप प्रज्वलन गर्नुभई उद्घाटन गर्नु भएको यस महत्वपूर्ण कार्यक्रममा वरिष्ठ कवि योगेन्द्र प्रधानले ‘पुर्खाया पलाःख्वाँय्’ नेपालभाषाको एक छुट्टै किसिमको भब्य काब्य भएको तथा नेवार पुर्खाको महत्वपूर्ण आन्दोलनको इतिहास भएको कुरा बताउनु भएको छ ।
यसै गरी, यस कार्यक्रममा अर्का वक्ता भाषा आयोगका सदस्य माननीय सुरेश किरण मानन्धरले यस पुस्तकका लेखकले निकै तपस्या गरी सृजना गर्नु भएको पुस्तक हो भन्नु हुँदै यस पुस्तक बागमती प्रदेश सरकारबाट प्रकाशन हुनु भनेको निकै नै गौरवको कुरा हो भन्नुभयो ।
यसै गरी वरिष्ठ साहित्यकार हितकर वीर सिंह कंसाकारले यस ‘पुर्खाया पलाःख्वाँय्’ नेपालभाषाको निकै भब्य काब्य हो भन्नु हुँदै यसले नयाँ पुस्तालाई नेवार पुर्खाको ज्ञान दिने काम भएको छ भनी भन्नुभयो । कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयको तर्फबाट लोककवि जकःमिलाई शुभकामना पत्र समर्पण गरिएको छ । पुस्तक प्रकाशनको अवसरमा शुभकामना ब्यक्त गर्नुहुँदै नेवाः देय् दबूका पूर्व अध्यक्ष र संरक्षक नरेश ताम्राकारले देय् दबूबाट जकःमिलाई आदिवासी जनजाति पहिचानको आन्दोलनमा कविता मार्फत निभाउनु भएको भूमिकालाई कदर गरेर तत्कालीन समयमा लोककविको उपाधि दिइएको भनी उल्लेख गर्नुभयो ।
यसै गरी मुख्य अतिथि शैलेन्द्र मान बज्राचार्यले लोककविले हाम्रो जाति, भाषा, साहित्य र आन्दोलनको क्षेत्रमा दिनुभएको योगदानलाई स्मरण गरी यस पुस्तक बागमती प्रदेश सरकारबाट प्रकाशन भएको कुरा उल्लेख गर्नु हुँदै यस पुस्तक पढेर नयाँ पुस्ताले पुर्खाको योगदानको बारेमा धेरै ज्ञान लिनु हुनेछ भनी भन्नु भयो । अन्तमा सभाध्यक्ष नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले– नेवाः देय् दबूले निकै उपयुक्त ब्यक्तिलाई निकै उपयुक्त लोककवि पदवि दिने काम भएको कुरा राख्नु हुँदै जकःमिले अझ सबल रुपमा अगाडि बढ्न सकियोस भनी शुभकामना दिनुभयो । नेवाः देय् दबू, जातीय परिषद्का सचिव मचाराजा महर्जनले सञ्चालन गर्नुभएको यस
कार्यक्रममा जातीय परिषद्का सदस्य तथा माली समाजका अध्यक्ष अमर नारायण मालीले स्वागत मन्तब्य राख्नुभएको थियो । यस कार्यक्रममा लोककवि जकःमिले गाउनु भएको र शान्तराज शाक्यले निर्देशन गर्नुभएको शताब्दी पुरुष सत्यमोहन जोशीको ब्यक्तित्व कृतित्व समावेश भएको भिडियो गीत समेत प्रदर्शन गरिएको थियो । नेपाल देश तथा नेवार समाज उत्थान गर्ने कार्यमा विशेष योगदान गर्नुभएको राजनैतिक, सामाजिक, साहित्यिक, सांस्कृतिक क्षेत्रका ७१ नेवार पुर्खाहरुको काव्यिक जीवनी समावेश भएको यस पुस्तक नेपालभाषाको निकै महत्वपूर्ण ऐतिहासिक काब्य भएको कुरा सबैले महसुस गर्नुभएको छ ।
