अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको विश्व सम्मेलन अबुधावीमा सम्पन्न

आबुधावी । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघको विश्व सम्मेलन अबुधावीमा सम्पन्न भएको छ । अक्टोबर ९ देखि सुरु भएको सम्मेलन १५ अक्टोबर बुधबार सकिएको हो ।

एडनिक प्रदशनी स्थल आबुधावीमा भएको सम्मेलनमा सरकारी प्रतिनिधिको रुपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक बेदकुमार ढकाल र अबुधाबीस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रन्जिता दाहालले सरकारी प्रतिनिधिको नेतृत्व गरेकी थिइन्।

त्यस्तै उद्घाटन सत्रमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले समेत सहभागिता जनाएका थिए भने नेपालका विभिन्न गैरसरकारी सस्थाका ३२ जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए।

यस्तै, सम्मेलनमा गैरसरकारी संस्था होस्टेमा हैसे नेपालले रेड पाण्डा कार्पेट कार्यक्रम आयोजना गरेको थियो, जसको उद्घाटन उपनियोग प्रमुख दाहालले गरेकी थिइन्। त्यस्तै गएको आइतबार नेपाली प्रतिनिधिमण्डलसँग दूतावासले अन्तरक्रिया समेत गरेको जनाएको छ।

चार वर्षमा हुने संघको विश्व संरक्षण महाधिवेशनले विश्वभरका सरकार, विज्ञ, वैज्ञानिक र नागरिक समाज मिलेर जैविक विविधता र दिगो विकासको कार्यसूची तय गर्ने गर्छ। नेपाल पहाड, तराईदेखि हिमालसम्म फैलिएको जैविक विविधतायुक्त प्राकृतिक स्रोत र सम्पदा, एकसिंगे गैंडा, बंगाल चिता, रातो पाण्डा, हिउँ चित्ता जस्ता दुर्लभ प्रजातिहरूको बासस्थान भएकोले पनि संघमा नेपालको महत्व विशेष छ।

त्यस्तै कुल भूभागको ३.२ प्रतिशत र विश्वको कुल जीव जन्तु प्रजातिको १.१ प्रतिशत नेपालमा पाइने भएकाले यसमा नेपालको सहभागिता लाइ चासोपूर्वक हेरिने गरिएको छ।

नेपालको तर्फबाट क्षेत्रीय परिषद् सदस्यमा पत्रकार रोशनी अधिकारी निर्वाचित

यसैबीच सम्मेलनले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको अध्यक्षमा यूएईका रजान खलिफा अल मुबारकलाइ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको छ भने पूर्वी र दक्षिण एसियाली क्षेत्रका लागि क्षेत्रीय परिषद सदस्य पदमा नेपालकी रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन्। उनी २०२९ सम्मको कार्यकालका लागि निर्वाचित भएकी हुन्।

अधिकारी सहित भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र अन्य देशका उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचित पर्यावरण पत्रकार अधिकारीले जैविक विविधता, जलवायु परिवर्तन र लैङ्गिक समानताका क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव बोकेकी छिन्। उनी नेपाल वातावरण पत्रकार सञ्जालकी पूर्व अध्यक्ष तथा हाल साना स्तनधारी संरक्षण तथा अनुसन्धान प्रतिष्ठानकी बोर्ड सदस्य समेत हुन्।

सम्मेलनले देशीय प्रतिनिधिहरू चयन गर्नुका साथै २० वर्षे दीर्घकालीन रणनीतिक दृष्टि र चार वर्षे कार्यक्रम अघि बढाएको दुतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ। दूतावासले सम्मेलन मार्फत नेपाललाई जलवायु अनुकूलन, सामुदायिक सहनशीलता र वैज्ञानिक नवीनता मार्फत दिगो भविष्यतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।