काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ ले आफ्नो सेवा प्रवाहलाई थप व्यवस्थित र आधुनिक बनाउँदै नयाँ प्रशासनिक भवनबाट कार्य प्रारम्भ गरेको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र वडाध्यक्ष भुवन लामाले एक विशेष समारोहबीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। उद्घाटन लगत्तै वडाध्यक्ष लामाले पूर्ववडाध्यक्ष दिपेन्द्र लामालाई घर नम्बर प्रदान गर्ने फाइल स्वीकृत गर्दै नयाँ भवनबाट औपचारिक सेवाको श्रीगणेश गरे।
करिब ४ करोड ७७ लाख ३२ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो भवन आधुनिक र मौलिकताको अनुपम संगम बनेको छ।
६ करोड २८ लाखभन्दा बढीको प्रारम्भिक अनुमान गरिए पनि सार्वजनिक खरिद प्रक्रियामार्फत किफायती लागतमा निर्माण सम्पन्न हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। ईञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार यो भवन ‘राष्ट्रिय भवन संहिता २०२०’ बमोजिम पूर्ण रूपमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित छ।
भवनको मुख्य विशेषता यसको समावेशी संरचना हो। बाहिरी स्वरूपमा परम्परागत नेपाली शैली झल्किए पनि भित्री भाग पूर्णतः आधुनिक छ।
अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहजताका लागि र्याम्प र लिफ्टको व्यवस्था गरिएको छ।
साथै, सेवाग्राहीलाई विभिन्न कोठामा भौंतारिनु नपरोस् भन्नका लागि ‘एकद्वार प्रणाली’ लागू गरिएको छ, जसअनुसार धेरैजसो सेवाहरू एउटै तलामा उपलब्ध हुनेछन्। स्थानीय पहिचानलाई सम्मान गर्दै भवनको परिचय पाटीमा नेपाली, रञ्जना र सम्बोटा गरी तीनवटा लिपि प्रयोग गरिएको छ, जसले काठमाडौंको सांस्कृतिक विविधतालाई प्रतिविम्बित गर्दछ।
