अमेरिका-इरान युद्धले करोडौँ मानिस भोकमरीको जोखिममा

अमेरिका, इजरायल-इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा बढेको छ। जारी युद्धका कारण विश्वका सबैभन्दा कमजोर र गरिब समुदायहरूमा चरम खाद्य संकटतर्फ धकेलिने खतरा बढेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले जनाएको छ।

‘वर्ल्ड फुड प्रोग्राम’ (डब्लुएफपी) का कार्यवाहक कार्यकारी निर्देशक कार्ल स्कउले सीएनएनसँग कुराकानीमा युद्धको प्रभावले लाखौँ मानिसलाई गम्भीर भोकमरीको अवस्थामा पुगेको र युद्ध तत्काल अन्त नभए अवस्था भयावह हुने बताए।

विशेषगरी ‘स्ट्रेट अफ हर्मुज’ बन्द भएपछि इन्धनको मूल्य आकासिएको छ। यसले डब्लुएफपीका राहत तथा खाद्य वितरण कार्यक्रमहरूको लागत निकै बढाएको छ। इन्धन महँगिएसँगै विश्वभर खाद्यान्नको मूल्यसमेत उकालो लागेको छ।

युद्धका कारण खाडी क्षेत्रबाट निर्यात हुने मल (रासायनिक उर्वरक) को आपूर्तिमासमेत अवरोध सिर्जना भएको छ। यसको प्रत्यक्ष असर सुडान लगायत गरिब अफ्रिकन र विश्वभरका मुलुकहरूलाई परीरहेको छ। त्यसको प्रत्यक्ष असर सुडानमा देखिएको डब्लुएफपीले जनाएको छ। विश्वका साना देशहरुमा अहिले कृषि उत्पादनका लागि अत्यावश्यक मल समयमै पुग्न नसक्दा समस्या बढेको हो।

डब्लुएफपीले यसअघि नै बजेट अभावका कारण कठिन निर्णयहरू लिन बाध्य भइरहेको अवस्थामा युद्धले थप चुनौती थपेको स्काउले बताए। यो संस्था मुख्य रूपमा विभिन्न सरकारबाट प्राप्त सहयोगमा निर्भर छ। तर पछिल्ला वर्षहरूमा यसको वित्तीय सहयोगमा ठूलो गिरावट आएको छ।

संस्थाको सबैभन्दा ठूलो दाता रहेको अमेरिकाले समेत सहयोग उल्लेखनीय रूपमा घटाएको छ। सन् २०२४ मा अमेरिकाले ४ अर्ब डलरभन्दा बढी सहयोग गरेको थियो भने सन् २०२६ का लागि हालसम्म करिब ७३ करोड १० लाख डलर मात्र उपलब्ध गराएको छ।

स्काउकाअनुसार गरिब देशहरूमा खाद्यान्नको मूल्य २० देखि ३० प्रतिशतले बढ्दा मानिसहरू बाध्य भएर २०-३० प्रतिशत कम खाना खान थालेका छन्।

डब्लुएफपीले गत मार्चमै तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि रहेमा जुलाईसम्म थप ४ करोड ५० लाख मानिस तीव्र खाद्य संकटमा पर्ने चेतावनी दिएको थियो।

स्काउकाअनुसार ‘हर्मुज’ भोलि नै पुनः सञ्चालनमा आए पनि अहिलेको संकटको असर लामो समयसम्म विश्वभर महसुस हुने सम्भावना छ।