काठमाडौँ — काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई साझेदारीका लागि प्रस्ताव गरेको छ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुर र मध्यपुर थिमि नगरपालिकालाई उक्त प्रस्ताव गरेकी हुन्।
काठमाडौं र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालीन यातायात सेवामा जोडिन उनले भक्तपुरका स्थानीय तहलाई पनि आग्रह गरेकी हुन् ।
गत वैशाख १ देखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा साझा यातायातले रात्रिकालीन यातायात सेवा सञ्चालन गरिरहेको छ। रात्रिकालीन बस सेवा काठमाडौं बाहिरका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने माग बढेको उनले बताइन्। श्रमिक तथा मध्यम वर्गका लागि रात्रिकालीन बस सेवा अत्यावश्यक देखिएको उनको भनाइ छ । प्रारम्भिक चरणमा यातायात सेवा सञ्चालनमा केही घाटा देखिएको भन्दै उनले त्यसको भार सबै स्थानीय तहले साझेदारी गरेर सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
‘हाम्रो सहरलाई सुरक्षित बनाउन यातायातको अत्यन्त महत्त्वपूर्ण भूमिका हुन्छ। अर्को महत्त्वपूर्ण कुरा एउटा पालिकालाई अर्को पालिकासँग जोड्ने ‘ट्रान्स–बाउन्ड्री’ अर्थात् अन्तरपालिका यातायात पनि हो,’ उनले भनिन्, ‘राति ६–७ बजेपछि सार्वजनिक यातायातका साधनहरू बिस्तारै कम हुँदै जान्छन्। धेरै श्रमिक वर्गका मानिसहरू काठमाडौंमा काम गर्नुहुन्छ, तर उहाँहरूको घर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरिलगायतका ठाउँमा हुन सक्छ। काम सकेर घर फर्किनुपर्दा सार्वजनिक यातायात नपाउने समस्या उहाँहरूले भोग्दै आउनुभएको छ।’ आफूहरुले रुट विस्तार गरिरहेको र भक्तपुरलाई पनि यसैगरी साझेदारीमा जोडेर अघि बढाउन चाहेको उनको भनाइ छ ।
असोज ३ देखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बसले ६ वटा नयाँ रुटमा सेवा दिने गरी तयारी थालिएको छ।यसअन्तर्गत गोदावरीदेखि बूढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, विमानस्थलदेखि चन्द्रागिरिको नागढुंगासम्म ४ वटा, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडकस्थित नेपाल वायुसेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन्।
चक्रपथमा यातायात सेवा सञ्चालन भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन भएका हरेक क्षेत्रमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ।
