जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते देशका अधिकांश भू-भागमा बदली रही विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
वर्षासँगै हिमाली क्षेत्रमा हिमपात, पहाडी भेगमा पहिरोको जोखिम र तराईका भू-भागमा तीव्र गतिको हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार असोज ०८ गते बिहीबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने देखिन्छ।
यसैबीच मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको सम्भावनना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ ।
निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट दुर्घटना, चोटपटक र जनस्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो ।
मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ । साथै, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपद्का समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।
