काठमाडौँ – एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गतको पुरुष क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन्। भारतले श्रीलंकालाई हराउँदा पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
भारत र पाकिस्तानबीच पहिलो पटक एसियाडको फाइनलमा भिडन्त हुन लागेको हो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। भारतका लागि इशान किशनले ४६ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ८० रनको अविजित इनिङ्स खेल्दा वैभव सुर्यवंशीले २१ बलमा ६ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाएका थिए। त्यस्तै, कप्तान श्रेयस अय्यरले १३ रन बनाए।
श्रीलंकाका लागि थरिन्दु रत्नायके सहान अराचिघेले २-२ विकेट लिँदा वानुजा साहनले १ तथा लासिथ क्रोसपुले र नुवानिदु फर्नान्डोले १-१ विकेट लिए।
जवाफमा श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट भयो। उसका लागि नुवान्दु फर्नान्डोले १५ रन बनाउनु एक मात्र दोहोरो स्कोरका रुपमा रहे। उसका ५ खेलाडी डकआउट भएका थिए।
भारतका लागि जसप्रित बुमराह, अक्षर पटेल र अभिनाश शर्माले २-२ विकेट लिँदा वासिंगटन सुन्दरले १ विकेट लिएका थिए।
त्यसअघि बिहीबार नै भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा बंगलादेशले पहिले ब्याटिङ गर्दै निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो।
जवाफमा पाकिस्तानले ९ बल बाँकी हुँदै ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। पाकिस्तान र भारतबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
