कांग्रेस महाधिवेशनः तीन समूहमा छलफल जारी

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र दिउँसोबाट शुरू भएको छ ।

गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो ।

सभापति गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि हिमाल, पहाड र मधेस तराई गरी तीन समूहमा विभाजन गरेर बन्द सत्र शुरू भएको हो ।

शुरूआतमा पहाडको बन्द सत्र चलेको छ । बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको हो।

हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्।

तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन्।

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।