एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो ।
च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो।
आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।
११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।
अब एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।
समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।
