ललितपुर -ज्यापु समाज यलको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको प्रथम काजिलाल अवाले स्मृति ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । मेन्स डबल, भेन्ट्रान र अण्डर १७ गरी तीन समूहमा भएको प्रतियोगिताका विजयीलाई बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको हो।
सो कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको विशेष उपस्थिति रहेको थियो ।
गएको भाद्र २० गतेबाट सुरु भएको प्रतियोगितामा ललितपुर महानगरका ४० वटा टोलको सहभागिता थियो भने अण्डर १७ समूहमा हःखा छुसिकाका सौर्य महर्जन प्रथम, नागबहालका सुगत शाक्य द्वितीय, सप्तखेलका श्रीष प्रधान र नागबहालका सम्यक शाक्य तृतिय हुनुभएको थियो।

यसैगरी भेट्रान्सतर्फ सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडी प्रथम भएको छ । उहाँहरुको जोडीले मंगलबजारका किशोर ब्यञ्जनकार र विरेन्द्रलाल श्रेष्ठको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा पराजित गरेको थियो । भेट्रान्सतर्फ लुँखुसिका बिलन महर्जन र सन्जय महर्जनको जोडी र त्यागलका सञ्जय महर्जन र सानुबाबु महर्जनको जोडी तृतीय भएको थियो।
यसैगरी मेन्स डबलमा नागबहालका ससीन डंगोल र सुमन शाक्यको जोडीले ओकुबहालका शान्त डंगोल र दिपेश शाक्यलाई हराउँदै प्रथम भएको थियो । फाइनल खेलमा नागबहालले ओकुबहाललाई २१–१३ र २१–१४ को सोझो सेटमा हराएको थियो ।
मेन्स डबलमा पिन्छेबहालका अमन महर्जन र दिपान महर्जन र दथुलँका राजु बज्राचार्य र सुमित महर्जनको जोडी तृतिय हुन सफल भयो।
यो पनि पढ्नुहोसः ललितपुरमा काजिलाल व्याडमिन्टन प्रतियोगिता शुरू
यो पनि पढ्नुहोसः ज्यापु समाजले प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने
पुरस्कार वितरण कार्यक्रम युवा तथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनको सभापतित्वमा भएको थियो । कार्यक्रममा ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जन, निवर्तमान अध्यक्ष चन्द्र महर्जन, ललितपुर ९ वडाका अध्यक्ष एवम् महानगरका प्रवक्ता राजु महर्जन, श्रम तथा युवा समितिका प्रमुख एवम् उपाध्यक्ष किरण महर्जनलगायतको उपस्थिति रहेको थियो।
