चर्चित सिनेकर्मी सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशनमा तयार भएको नयाँ नेवा: चलचित्र ‘इन्दिरा– धिमे मैंचा’को एक गीत तथा ट्रेलर शनिबार सार्वजनिक गरिएको छ ।
ख्यालिजुजु / हास्य सम्राट मदनकृष्ण श्रेष्ठले मुख्य अतिथिको रुपमा भाग लिनुभएको उक्त कार्यक्रममा अग्रज कलाकर्मी पवन जोशी र नेपालभाषाको पहिलो सिनेपत्रकार विजयरत्न असंबरे विशिष्ट अतिथिको रुपमा संलग्न हुनुभएको छ ।
कार्यक्रममा ‘इन्दिरा– धिमे मैंचा’ चलचित्रका लेखक तथा निर्देशक तुलाधरले स्वागत गर्नुभएको छ भने मुख्य निर्माता गोपालकृष्ण महर्जन, निर्माता गोपालकाजी कायस्थ, तथा मुख्य कलाकार रोजिना सुवाल सहितले आफ्ना मन्तब्य राख्नुभएको छ ।
भक्तपुरको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित यस चलचित्रको ट्रेलर र गीत लोकार्पण कार्यक्रममा चलचित्रका स्रोतब्यक्ति लाछिमस्यूले यस चलचित्रमा आफूले जीवनमा गरेको संघर्षको कथा हेर्न सकिने कुरा बताउनु भयो ।
सार्वजनिक भएको गीत सुरेन्द्र तुलाधरले लेख्नु भएको हो भने संगीत नील शाक्य, संगीत संयोजक फिरोज बज्राचार्य, छायाँकार मुकेश हुमागाईँ, नृत्य निर्देशक रोहिया महर्जन हो ।
नेवा: चलचित्र क्षेत्रका एक चर्चित हिरोइन रोजिना सुवालको मुख्य भूमिका रहेको यस फिल्ममा सिम्रिक श्रेष्ठ, नगिना जोशी, रामराजा भाम लगायतका धेरै कलाकारहरुको अभिनय रहेको छ ।
