काठमाडौँ – काठमाडौँ उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इन्द्रध्वजसहितको यःसिं ठड्याएर विधिवतरुपमा सुरुआत भइसकेको छ।
यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी भएका छन् । चीन, अमेरिका र कोरियाका केही सहरका प्रमुख नेपाल आइसक्नुभएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनु भयो।
महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा सांस्कृतिक, सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै प्रवक्ता मानन्धरले जीवित देवीकुमारी, गणेश र भैरवको रथारोहण, रथयात्रा, विभिन्न परम्परागत वाद्यवादन, गायन, नाचजस्ता कार्यक्रम सञ्चालन गरेर नेपालको बारेमा जानकारी दिन पाहुनालाई निमन्त्रण गरेको बताउनु भयो ।
९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा लिङ्गो ठड्याउने, १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ । जात्रामा राष्ट्र प्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा रही आएको छ । जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ ।
पाहुनालाई इन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको छ ।
