वर्ल्ड नेवाः अर्गनाइजेशनका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र कुमार नकःमि सम्मानित

तुयु लुमन्ति दबू, कीर्तिपुरद्वारा ने.सं. ११४५ कौलागाः पञ्चमी, शनिबार (असोज २५ गते) वर्ल्ड नेवाः अर्गनाइजेशनका अन्तरार्ष्ट्रिय उपाध्यक्ष वीरेन्द्र कुमार नकःमिलाई भब्य सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

कीर्तिपुरको ९ वडा अमल्सि स्थित दबलीको सभाकक्षमा भएको उक्त कार्यक्रम तुयु लुमन्ति दबूका संस्थापक अध्यक्ष लोककवि राजभाइ जकःमिको सभापतित्वमा शुरु भएको हो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलको प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको छ भने विशेष अतिथिको रुपमा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यका साथै अन्य ब्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । दबूका संस्थापक अध्यक्ष लोककवि राजमाइ जकःमिले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा सम्मानित ब्यक्तित्व कीर्तिपुरका पुत्र, वर्ल्ड नेवाः अर्गनाइजेशनका उपाध्यक्ष वीरेन्द्र कुमार नकःमिले आफू पच्चीस वर्ष अघि दुबइ पुगेको र त्यहाँ विविध नेवार गतिविधि सञ्चालन गर्दै आइरहेको भनी जानकारी दिनुभयो ।

साथै, वहाँले नेवार क्षेत्रका निमित्त आफूले सक्दो सहयोग गर्दै आइरहेको र गर्दै जाने भनी बचन पनि दिनुभयो । त्यसै गरी, कार्यक्रममा विविध संघ संस्थाका ब्यक्तित्वहरुले सम्मानित नकःमिलाई शुभकामना दिनुहुँदै आफ्ना मन्तब्य राख्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले जेनजी आन्दोलनले कीर्तिपुर नगरपालिकाको प्रशासनिक भवन ध्वस्त भएपछिको अवस्थामा वर्ल्ड नेवाः अर्गनाइजेशनसँग समेत सहकार्य गरी अगाडि बढ्ने कुरामा जोड दिनु भयो । कार्यक्रम आयोजक तुयु लुमन्ति दबूका संस्थापक अध्यक्ष तथा सभाका सभापति लोककवि राजभाइ जकःमिले सभाको समापन तथा कार्यक्रम निर्जला महर्जनले सञ्चालन गर्नुभएको थियो ।