काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्की जंगी अड्डा पुग्दा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो ।
साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन्।
‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु’, प्रधानमन्त्री कार्कीले नेपाली सेनालाई निर्देशन दिँदै भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन ।
