काठमाण्डौंको कीर्तिपुरमा रहेको सस: त्वाले वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) नेपाल च्याप्टरका नयाँ पदाधिकारीहरूलाई स्वागत तथा अभिनन्दन गरेको छ।
गएको शनिबार सस: त्वाका अध्यक्ष फिरोज सिंहको सभापतित्व भएको कार्यक्रममा नेपाल च्याप्टरका नयाँ पदाधिकारीहरूलाई स्वागत तथा अभिनन्दन गर्ने क्रममा सगुन, माला, खादासहित मायाको चिनो प्रदान गरेको थियो।
कार्यक्रममा सस: त्वाको समन्वयमा तथा नेपाल च्याप्टरको सक्रियतामा डब्ल्यूएनओलाई विश्वव्यापीकरण गर्ने विषयमा गहन छलफल पनि भएको थियो। छलफलमा नेपाल च्याप्टरको अध्यक्ष रमेश मुनिकारले वर्ल्ड नेवाः अंगनाइजेशनलाई विश्वव्यापीकरण गर्न सबैको साथ चाहिने कुरामा जोड दिनु भयो।
छलफलमा डब्ल्यूएनओका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र नकर्मी (दुबई), सुरेन्द्र भक्त श्रेष्ठ (नेपाल), महासचिव लुमु श्रेष्ठ (नेपाल) ,युरोप कोर्डिनेटर कुमार नापित (जर्मन), डा नरेश शाक्य (युएसए), मिडिया एम्बेस्डर बिगेन तुलाधर (नेपाल) ,साहित्यिक एम्बेस्डर राजभाई जकमी (नेपाल) लगायत नेपालका विभिन्न विज्ञहरूको उपस्थिति थियो।
कार्यक्रममा नेपाल च्याप्टरले आफ्ना सल्लाहकारलाई मनोनयन पत्र पनि हस्तान्तरण गरेको थियो। कार्यक्रम पछि सस: त्वा कीर्तिपुरले नेवा: कला संस्कृति झल्काउने नेवा: भोजको पनि आयोजना गरेको थियो।
