नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै क्यानडा

काठमाडौँ- नेपाल र क्यानडाबीच जारी टी- २० विश्वकप अघिको अन्तिम अभ्यास खेलमा क्यानडाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

आईसीसीको आधिकारिक अन्तिम अभ्यास खेलमा नेपालको कप्तानी दीपेन्द्र सिंह ऐरीले गरेका छन् भने क्यानडाको कप्तानी हर्ष थाकरले गरेका छन्। नियमित कप्तानहरू मुम्बईमा क्याप्टेन मिटमा सहभागी भएकाले उपकप्तानहरूले जिम्मेवारी पाएका हुन्।

यसअघि पहिलो अभ्यास खेलमा चिरपरिचित टोली यूएईलाई पराजित गरेकाले नेपाल क्यानडालाई हराएर आफ्नो बलियो छविसहित पुरानो तथा बलियो टेस्ट टोली इंग्ल्यान्डको सामना गर्न वानखेडे पुग्नेछ।

जारी ‘वार्मअप’ शृङ्खलामा क्यानडा युरोपियन टोली इटालीसँग पहिलो खेलमा रोमाञ्चक प्रतिस्पर्धामा १० रनले पराजित भएकाले दोस्रो टी- २० अभ्यास खेलमा जित निकाल्दै विश्वकपअघि आफूलाई केही सुधार गर्न चाहन्छ। चेन्नईमै भएको उक्त वार्मअप खेलमा इटालीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले १ सय ४६ रन मात्र बनाउन सकेको थियो।

त्यसविपरीत नेपालले भने यूएईमाथि सानदार जित हासिल गर्दै पहिलो ‘वार्मअप’ खेलमा रवाफिलो प्रदर्शन गर्‍यो। यूएईले पहिले ब्याटिङ गर्दै बनाएको १ सय ४५ रनको लक्ष्य नेपालले १८ बल बाँकी छँदै ३ विकेट गुमाएर सहज रूपमा पूरा गरेको थियो।

जहाँ नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ खेलेका थिए।