जीवित देवताका रुपमा लिइएका श्री गणेश र श्री भैरवको निवास स्थान घर बनाउने विषयमा साझेदारहरु बीच सहमति भएका छन् । बसन्तपुर डबलिको दक्षिणतिर यस भन्दा अघि त्रिभुवन विश्व विद्यालय अन्तर्गतको भवन र नव आदर्श माध्यमिक विद्यालय रहेको स्थानमा जीवित देवताहरु श्री गणेश र श्री भैरवका निवास स्थान बनाउने विषयमा साझेदार कार्यालयका अधिकारीहरु बीच सहमति भएको हो । उक्त कार्यका निमित्त जग्गा लिने, भोगचलन सम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भइसकेको कुरा काठमाण्डौं महानगर पालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिनुभएको छ ।
कार्यवाहक प्रमुख डंगोलले जग्गालाई काठमाण्डौं महानगर पालिकाको मातहतमा ल्याई जीवित देवताहरु श्री गणेश र श्री भैरवको निवास स्थान घर बनाउने कार्यले काठमाण्डौंको पहिचान र गरिमालाई माथि उठाउने कुरा ब्यक्त गर्नुभएको र वहाँले यस कार्यमा कसैको आपत्ति नरहने कुरा पनि उजागर गर्नुभयो । श्री गणेश र श्री भैरवको निवास स्थान बनाउने प्रयासलाई स्थानीयवासीले सकारात्मक रुपमा लिइएको कुरा पनि वहाँले भन्नुभयो ।
सरकारी जग्गा दर्ता, उपयोगका साथै लीजमा दिने सम्बन्धी कार्यविधि २०७९ मा भएको ब्यवस्था अनुसार जग्गाका साथै भवन काठमाण्डौं महानगर पालिकाको मातहतमा ल्याउन यस भन्दा अघि डंगोल उप प्रमुखको जिम्मेवारीमा रहनुभएका बेला वहाँको संयोजकत्वमा समिति निर्माण गरी कार्य अगाडि बढाइएको हो । यस स्थानमा जीर्ण भवन रही आएको छ ।
हाल भएको भवन कुनै पनि समयमा भत्केर जनधनको क्षति हुनसक्ने भएर काठमाण्डौं महानगर पालिकाले उक्त जीर्ण भवन भत्काउने निर्णय गरिएको हो । यस भवन वडा नं. २३ को सिट नं. १०२–११०४–१२, कित्ता नं. ३४८ मा ४ आना १ पैसा २ दाम (०–४–१–२) क्षेत्रफलमा अवस्थित रहेको छ । वि.सं. २०७२ को महाभूकम्प पछि भवनको भित्र र बाहिरका भित्ता चर्किएर बाङ्गिएकाले थप क्षति हुन नदिन टेको लगाइएको छ ।
पुरानो भवनको दक्षिणतिर पहिलो तल्लामा रहेको झ्याल झरेको, उत्तर र दक्षिणतिरको छिडीमा पर्खाल चर्किएको, पूर्व तिरको मातन र च्वतँमा रहेको भित्ता ठाउँ ठाउँमा चर्किएको, उत्तर तिरको झ्याल वरिपरि ठाउँ ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने, काठको दलिन, खम्बाहरु कुहिएर गएको अवस्थामा रहेको छ । २०७२ सालको भूकम्पबाट जीर्ण र धरापमा रहेको भवन भत्काई अब जोखिम शून्य भएको भनी काठमाण्डौं महानगर पालिकाको भनाई रहेको छ ।
