मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक चक्रवातबाट उत्पन्न भीषण बाढीमा परी १५९ जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन्।

स्थानीय अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विपद्पछिको उद्धार तथा पुनर्निर्माणसम्बन्धी तथ्याङ्कअनुसार, चक्रवातसँगै परेको अत्यधिक वर्षाका कारण आएको बाढीबाट क्षेत्रीय राजधानी नान्निङ र गुइगाङ्ग सहरमा गरी १६ लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि दुवै सहरले उद्धार तथा राहत कार्यसँगै विपद्पछिको पुनःप्राप्ति र पुनर्निर्माणलाई तीव्रता दिएका छन्। साथै, भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरण गर्न पूर्वतयारी, रोकथाम तथा राहत क्षमता अभिवृद्धिमा समेत ध्यान केन्द्रित गरिएको अधिकारीहरूले बताएका छन्।

जुलाईको सुरुवातमा गुआङ्सी क्षेत्रमा ऐतिहासिक रूपमा लामो समयसम्म भारी वर्षा भएको थियो। लगातारको वर्षा र मेसाक चक्रवातको प्रभावका कारण नदी तथा जलाशयमा पानीको सतह बढेपछि व्यापक बाढी आएको थियो।

अधिकारीहरूले प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा जनजीवन सामान्य अवस्थामा फर्काउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन्।