झापाबाट इलाम जाँदै गरेको पिकअप दुर्घटना, एक जनाको मृत्यु

झापा– झापाको बिर्तामोडबाट खाद्य सामग्री बोकेर इलामको जितपुरतर्फ जाँदै गरेको प्र१–०१–००१ च ९७७८ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

इलाम नगरपालिका–११ सोयाकस्थित आहालेमा आइतबार साँझ ७:०५ बजेतिर पिकअप आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो।

दुर्घटनामा गाडीका मालिक ३८ वर्षीय विष्णु पराजुलीको मृत्यु भएको हो। झापा खुदुनाबारी घर भई हाल इलाम देउमाई–९ नवमी बजारमा व्यवसाय गर्दै आएका पराजुलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा पराजुलीकी ८ वर्षीया छोरी प्रेयन्सा पराजुली र इलाम देउमाई–९ जितपुर बस्ने २२ वर्षीय आइतबहादुर लिम्बू घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।