पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, डिजल र मट्टीतेल प्रतिलिटर २३७ रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुन: भारी वृद्धि गरेको छ। निगमले आजैदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) को मूल्य बढाउने निर्णय गरेको हो।

नयाँ मूल्यसूची अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। यससँगै अब उपभोक्ताले डिजल र मट्टीतेलका लागि प्रतिलिटर २३७ रुपैयाँ र हवाई इन्धनका लागि २५६ रुपैयाँ तिर्नुपर्नेछ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ दररेट अनुसार अझै पनि निगम ठूलो घाटामा रहेको विज्ञप्तिमा उल्लेख छ। मूल्य वृद्धि गर्दा समेत पेट्रोलमा २ रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको निगमको दाबी छ। निगमका अनुसार हाल पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको नोक्सानी भइरहेको छ।