काठमाडौँ । नेपाली बजारमा डढेलोझैँ सल्किएको सुनको मूल्यमा सोमबार केही मत्थर हुने संकेत देखिए पनि चाँदीको मूल्यले भने सर्वसाधारणको ढाड सेक्ने क्रम जारी राखेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार आज सुनको भाउमा प्रतितोला ३०० रुपैयाँको सामान्य गिरावट आएको छ।
आइतबार एकैदिन तोलामा १ हजार रुपैयाँले ओरालो लागेको सुन आज २ लाख ९४ हजार ८०० रुपैयाँमा खुम्चिएको हो।
बजारमा सुनको मूल्य घट्दा राहत महसुस गरेका उपभोक्ताका लागि चाँदीको बढ्दो ग्राफ भने चिन्ताको विषय बनेको छ।
आइतबारको तुलनामा २० रुपैयाँ महँगिएर चाँदी आज प्रतितोला ५ हजार ३० रुपैयाँको उच्च विन्दुमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव भन्दै व्यवसायीहरूले मूल्य बढाएपछि अब सामान्य गरगहना बनाउन पनि सर्वसाधारणको पहुँच बाहिर पुग्ने खतरा बढेको छ।
दुई दिनमा सुन १३ सयले घट्नुलाई सकारात्मक मानिए पनि चाँदीको अनपेक्षित वृद्धिले बजारलाई पुनः अस्थिर बनाएको छ।
