जनप्रतिनिधि, प्रहरी र स्थानीयको सहकार्यमा जनसेवा भवन पुनःनिर्माण तीव्र

पहिलो सम्पदा मैत्री स्वरुपको जनस्तर बाट बन्दै गरेको जनसेवा प्रहरी वृतको भवन पुनःनिर्माण कार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। सम्पदा–मैत्री तथा कलात्मक स्वरूपमा निर्माण भइरहेको भवनको भुइँतल्लामाथि पहिलो तल्लाको ढलान सफलतापूर्वक सम्पन्न भएको हो ।

स्थानीय वडा नं. ११, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ का जनप्रतिनिधिहरूको नेतृत्व, स्थानीय समुदायको सहयोग तथा विभिन्न सहयोगी हात र मनहरूको सक्रिय सहभागितामा जनसेवा भवन पुनःनिर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

ढलान सम्पन्न कार्यक्रममा जनसेवा भवन पुनःनिर्माण समितिका संयोजक तथा काठमाडौं महानगरपालिका वडा नं. २४ का अध्यक्ष बिनोद कुमार राजभण्डारी,सदस्य गणपति लाल श्रेष्ठ,प्रहरी वृत्त जनसेवाका प्रमुख चन्द्रबहादुर थापा, समितिका कोषाध्यक्ष रुपक मान सिंह, समितिका सदस्य तथा वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन,आर्किटेक्ट अमित बज्राचार्य, निर्माण व्यवसायी बलकृष्ण महर्जन, सदस्य–सचिव राजु श्रेष्ठ तथा प्राविधिक एवं समिति सदस्य राजेश लगायतको उपस्थिति रहेको थियो ।

सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै निर्माण भइरहेको जनसेवा भवनले ऐतिहासिक पहिचानलाई जोगाउँदै आधुनिक आवश्यकता समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ। स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, प्राविधिक टोली तथा समुदायबीचको सहकार्यले पुनःनिर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाएको छ ।

आर्किटेक्ट अमित बज्राचार्यले सम्पदा मैत्री स्वरुपको जनसेवा प्रहरी बृत्तको परिकल्पना गरेका थिए ।

समितिले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गरी ऐतिहासिक जनसेवा भवनलाई पुनः पुरानै गरिमा, पहिचान र सेवामुखी स्वरूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।