काठमाण्डौं– भाषा आयोगका माननीय सदस्य एवं नेपालभाषाका वरिष्ठ साहित्यकार तथा आधुनिक कवि सुरेश किरण मानन्धरलाई हृदयघाट भएको छ । काठमाण्डौं, नेपाः ब्यांक्वेटमा भएको एक कार्यक्रममा सोमबार साँझ मानन्धरलाई हृदयघात भएपछि तत्काल त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियाक सेन्टर महाराजगञ्जमा उपचारका लागि पुर्याइएको थियो । वहाँका परिवारका अनुसार वहाँको अवस्था अत्यन्त चिन्ताजनक छ ।
नेपालभाषा पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय मानन्धर यस भन्दा अघि सन्ध्या टाइम्स, नेपालभाषा टाइम्स दैनिकका सम्पादकका साथै विश्वभूमि, अप्सरा फिल्म म्यागेजिन, कोशल्वहं कविताप्रधान त्रैमासिक, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने छ महिने ‘थाय्भु’ को सम्पादन मण्डलमा रहनुभएका थिए ।
मानन्धरलाई राष्ट्रिय प्रतिभा पुरस्कार, पारिजात सिर्जनशील पुरस्कार, धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार आदिबाट सम्मानित गरिएका थिए । नेपालभाषा साहित्यिक क्षेत्रमा वहाँलाई आधुनिक कविका रुपमा परिचित मानन्धरको ‘थौं घण्टाघरं जिके ई न्यनाच्वन’ कविता संग्रहका साथै पद्मरत्न तुलाधरको जीवनी पुस्तक वहाँकै सम्पादनमा प्रकाशित भएका थिए ।
