हास्य सम्राट् (ख्यालिजुजु) मदनकृष्ण श्रेष्ठले नेपालभाषामा गाउनुभएका तीनवटा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लुभुवेभ इन्स्टिच्यूट एण्ड स्टुडियो केबिएसबाट निर्माण गरिएको उक्त म्यूजिक भिडियोको लोकार्पण गतः सोमबार कीर्तिपुर सिनेप्लेक्स हलमा भएको हो ।
खस नेपाली भाषाका लोकप्रिय कलाकार बसुन्धरा भूषाल प्रमुख अतिथिको रुपमा भएको लोकार्पण समारोहमा तीनवटा गीतका म्यूजिक भिडियोको लोकार्पण प्रमुख अतिथि भूषालले गर्नुभएको छ ।
मदनकृष्ण श्रेष्ठले गाउनुभएको ‘कलः ज्वनाः गन वनेत्यना…’ गीत लोककवि राजभाइ जकःमिले लेख्नुभएको हो भने संगीत हरिशरण साय्मिले राख्नुभएको हो । अर्को गीत सरिता महर्जनले गाउनुभएको ‘छि बिना गथे म्वायेगु…’ गीत चण्डेश्वर महर्जनले लेख्नुभएको छ भने यस गीतको पनि संगीत हरिशरण साय्मिले नै राख्नुभएको छ । यसै गरी, अर्को गीत ‘अय् दाइ खःमुली छु जक तयाहया…’ गीत स्वर्गीय लोकप्रिय पौभाः सृजक प्रेममान चित्रकारले लेख्नुभएको यस गीतमा हरिशरण साय्मिले नै संगीत राख्नुभएको छ ।
यस तीनवटै गीतको म्यूजिक भिडियोको निर्देशन बालमुकुन्द प्रजापतिले गर्नुभएको छ भने प्रजापतिले ‘अय् दाइ खःमुली छु जक तयाहया…’ म्यूजिक भिडियो रवि साय्मिको साथमा निर्देशन गर्नुभएको छ । यसै गरी, तीनवटै म्यूजिक भिडियोको छायांकन र सम्पादन शैलेश श्रेष्ठले गर्नुभएको छ ।
‘कलः ज्वनाः गन वनेत्यना…’ म्यूजिक भिडियोमा खस नेपाली भाषा चलचित्रका लोकप्रिय कलाकार करिष्मा मानन्धरले अभिनय गर्नुभएको छ भने त्यसै गरी भिन्तुना जोशी र सरिता श्रेष्ठको पनि अभिनय रहेको छ ।
म्यूजिक भिडियो सार्वजनिक समारोहमा मुख्य उपस्थितिको रुपमा हास्य सम्राट मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, लोकप्रिय गायक धिरज राई, गायिका सरिता महर्जन, संगीतकार हरिशरण साय्मि, गायक प्रवेश मान शाक्य, भीम तुलाधर त्यसै गरी लोकप्रिय कलाकार दिपाश्री निरौला, आराध्या लक्ष्मी खड्गी, रुपेन श्रेष्ठ थक्वाःमि, संगीतकर्मीहरु जीवित जल्मिको साथै धेरै संगीतकर्मी र कलाकारहरुको उपस्थिति रहेको थियो ।
सार्वजनिक भएको तीनवटै गीतका परिकल्पनाकार केबिएस लुभु हुनुहुन्छ ।
