विश्व नेवाः संगठनको नेपाल चप्टरले विश्व नेवाः दिवस भक्तपुरमा मनाउने

विश्व नेवाः संगठनको नेपाल चप्टरले यसपालिको विश्व नेवाः दिवस आउँंदो शनिबार भक्तपुरको दरवार क्षेत्रमा मनाउने भएको छ । अमेरिकाको बाल्टिमोरमा मुख्य कार्यालय रहेको यो संस्थाले विश्वका २८ वटा देशमा आफ्नो शाखा विस्तार गरिसकेको बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बताइयो ।

स्थापनाकालदेखि नै विश्वभर छरिएर रहेका नेवारहरुलाई एक ठाउँमा ल्याउनका लागि विविध कार्यक्रमहरु संचालन गर्दै आएकोको संस्थाले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवारका दिनलाई विश्व नेवाः दिवसको रुपमा मनाउने घोषणा गरेसँगै विश्व नेवाः दिवस मनाउँंदै आएकोमा यो वर्ष नेपाल चप्टरले भने भक्तपुरमा हुन लागेको जनाएको हो ।

यस वर्ष हामीले आठौं पटक विश्व नेवाः दिवस मनाउन गइरहेका छौं, विश्व नेवाः सरंगठनको नेपाल चप्टर अध्यक्षका सुरेन्द्रभक्त श्रेष्ठले पत्रकार सम्मेलनमा भने । विश्व नेवाः दिवस मनाउने क्रममा काठमाडौंमा ५ पटक, ललितपुरमा दुई पटक कार्यक्रमको आयोजना गरिसकेको उनले जनाए । यस अनुरुप यस वर्ष यही चैत्र १६ गते शनिबारका दिन विश्व सम्पदामा सूचिकृत भक्तपुर दरवार क्षेत्रमा यो कार्यक्रमको आयोजना गर्न गइरहेको उनले जनाए ।

हलिं नेवाः दिवसको मुख्य आकर्षणका रुपमा सो दिन बिहान दत्तात्रयमा भेला भई विभिन्न सांस्कृक्तिक झांकिहरुसहित भक्तपुर नगरपरिक्रमा गर्ने कार्यक्रम रहेको छ । यसका साथै भक्तपुरकै प्रसिद्ध विश्वकर्मा भैलः प्यावं, घिन्ताङ्गधिसि नाच, दाफा भजन, सानुमाया ताम्राकारको भजन, राजारानी नाच र इन्दिरा लाछिमस्यूको संयोजनमा धिमे बाजाको विशेष प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।