काठमाण्डाैं -देशभरका मानन्धरहरूको साझा संस्था केन्द्रीय मानन्धर संघले वसन्तपुरमा सामूहिक धाः बाजा प्रदर्शनी कार्यक्रम गरेको छ । हिजो शनिबार भएको धाः बाजा प्रदर्शनीमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वाग्मती प्रदेश सांसद तथा पूर्वमन्त्री वसन्त मानन्धरले पुर्खाले हस्तान्तरण गरेको मौलिक बाजाको संस्कृतिलाई संरक्षण गर्ने काममा सक्दो सहयोग गर्ने बताउनु भयो । त्यस्तै, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले देशकै गहनाको रूपमा रहेको अमूर्त सम्पदा संरक्षण, प्रवर्द्धन र विकासको लागि स्थानीय सरकारले काम गर्दै आएको बताउनु भयो ।
बाजा प्रस्तुति गरेका कलाकारहरू मध्ये अधिकांश १५ देखि ४० वर्षभित्रका किशोर, किशोरी, युवा तथा महिलाहरू थिए । संघले सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गरी अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बाजा प्रदर्शनी कार्यक्रम गरेको हो ।
